दफा २९
दण्ड सजाय

(१)कुनै व्यक्तिले देहायका कुनै कसूर गरेमा कर अधिकृतले देहाय बमोजिम जरिबाना गर्न सक्नेछ:–

(क) दफा ५ख. बमोजिम दर्ता गर्न कर अधिकृतले दिएको आदेश वा दफा १० को उपदफा (१) वा (२) उल्लङ्घन गरेमा वा दफा १०क. को उपदफा (१) दफा १०ख. को उपदफा (१) र दफा १०ख१. को उपदफा (१) बमोजिम दर्ता नभएमा प्रत्येक पटक बीस हजार रूपैयाँ,

(ख) दफा १० को उपदफा (५) वा (६) उल्लङ्घन गरेमा पटकै पिच्छे एक हजार रुपैयाँ,

(ख१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम करपाटी नराखेमा वा तोकिएको ठाउँमा करपाटी नराखेमा पटकै पिच्छे दुई हजार रुपैयाँ,

(ख२)दफा (१०)को उपदफा (७) उल्लङ्घन गरेमा पटकै पिच्छे दश हजार रुपैयाँ,

(ग) दफा १४ को उपदफा (१) उल्लङ्घन गरी बीजक नदिएमा पटकै पिच्छे दश हजार रुपैयाँ र बीजक नलिएमा पटकै पिच्छे एक हजार रुपैयाँ,

(ग१)दफा १४ को उपदफा (४) उल्लङ्घन गरेमा पटकै पिच्छे दश हजार रुपैयाँ,

(घ) दफा १५ उल्लङ्घन गरेमा उठाएको करको शतप्रतिशत

(ङ) दफा १६ को उपदफा (१) बमोजिम कारोबारको लेखा अच्चावधिक नराखेमा दश हजार रुपैयाँर कारोबारको लेखा निरीक्षण गर्न नदिएमा पटकै पिच्छे बीस हजार रुपैयाँ,

(च) दफा १६ को उपदफा (२) उल्लङ्घन गरेमा पाँच हजार रुपैयाँसम्म,

(छ) दफा १६ को उपदफा (३) वा (४) उल्लङ्घन गरेमा दश हजार रुपैयाँ,

(छ१)... (छ२) विद्युतीय बीजक जारी गर्न स्वीकृति लिएको वा स्वीकृति नलिएको करदाताले तथ्याङ्क मेट्न वा सच्याउन सकिने सफ्ट्वेयर प्रयोग गरेको पाइएमा पाँच लाख रुपैयाँ (छ३) विद्युतीय बीजक जारी गर्न सफ्वेयर वा उपकरण निर्माण गर्ने जडान गर्ने वा सञ्चालन गर्ने व्यक्तिले विभागले दफा १४क. बमोजिम जारी गरेको कार्यविधिको पालना नगरेमा पाँच लाख रुपैयाँ

(ज) दफा १८ को व्यवस्था उल्लङ्घन गरेमा लाग्ने करको प्रति दिन ०.०५ प्रतिशत वा प्रति कर अवधि एक हजार रुपैयाँ मध्ये जुन बढी हुन्छ सो रकम,

(झ) दफा २३ बमोजिमको कार्यमा बाधा विरोध गरेमा पटकै पिच्छे पाँच हजार रुपैयाँ,

(ञ) न्यून बीजकीकरण गरी बीजक काटेको पाइएमा प्रत्येक बीजकको लागि दुई हजार रुपैयाँ वा उपदफा (२) बमोजिम लाग्ने जरिबाना मध्ये जुन बढी हुन्छ सो रकम, तर न्यून बीजकीकरण भएको वस्तु कार्यालयले आवश्यक सम्झेमा तोकिए बमोजिम खरिद गर्न गराउन सक्नेछ ।

(ट) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा पटकै पिच्छे एक हजार रुपैयाँ ।

(१क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम पालना नगरी करको दायित्व घटाएमा कर अधिकृतले विभागले तोकेको आधारमा कर बिगोको पच्चीस प्रतिशतसम्म जरिबाना गर्न सक्नेछ।
(१ख) कुनै करदाताको मौज्दात परीक्षण गर्दा खरिद खातामा उल्लेख भएकोभन्दा बढी बस्तु मौज्दात फेला परेमा कर अधिकृतले त्यस्तो बस्तुको आम्दानी बाँध्न लगाई त्यसरी बढी फेला परेको बस्तुको बजार मूल्य कायम गरी त्यस्तो मूल्यको पचास प्रतिशतले हुने रकम जरिबाना गर्न सक्नेछ ।
(१ग) वस्तु तथा सेवाको हस्तान्तरण नगरी बीजक मात्र जारी गर्ने बिक्रेता व्यक्तिलाई जारी बीजक मूल्यको पचास प्रतिशत जरिबाना वा ६ महिनासम्म कैद वा दुवै गर्न सक्नेछ।
(१घ) दर्ता हुनुपर्ने दायित्व भएका व्यक्तिले दर्ता नगरी कारोबार गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको पचास प्रतिशतले हुन आउने रकम जरिबाना गर्न सक्नेछ ।
(१ड) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क), (क१) र (कर) बमोजिम विद्युतीय माध्यमबाट स्वचालित रूपमा कर फिर्ता लिँदा नपाउने कर फिर्ता लिएको पाइएमा कर अधिकृतले कर बिगोको पच्चीस प्रतिशत रकम जरिबाना गर्न सक्नेछ ।

(२) कुनै व्यक्तिले देहाय बमोजिमको कुनै कसुर गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको शतप्रतिशत रकम जरिबाना वा छ महिनासम्म केद वा दुवै सजाय गर्न सक्नेछः-

(क) झुट्टा लेखा वा बीजक वा अन्य कागजात तयार गरेमा

(ख) जालसाजी गरी कर छलेमा

(ग) - दर्ता नभएको व्यक्तिले दर्ता भएको व्यक्ति सरह व्यवहार गरेमा

(घ) न्युन वीजकीकरण गरी बिक्री गरेमा

(ङ) दफा ३० को उल्लङ्घन गरी कारोबार गरेमा ।

(३) यस ऐनमा उल्लिखित कुनै कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई त्यस्तो व्यक्तिले घटी तिरेको करको पचास प्रतिशत रकम जरिबाना लाग्नेछ ।